काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ ।
कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल रहेको काठमाडौंको युनिभर्सल मल्टी सर्भिसेस प्रालि, कुमार भण्डारी मुख्य व्यक्ति रहेको प्युठानको श्री स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि, कृष्णबहादुर खड्का मुख्य व्यक्ति रहेको दाङको श्री सुक्रिन निर्माण सेवा, निरजकुमार मिश्र मुख्य व्यक्ति रहेको धनुषाको श्री एसडी कन्स्ट्रक्सन छन् ।
त्यसैगरी जगतबहादुर जोरा मुख्य व्यक्ति रहेको डडेल्धुराको राष्ट्र निर्माण सेवा, जनार्धन धिताल मुख्य व्यक्ति रहेको धापासीको मुक्तिनाथ बिल्डर्स एन्ड कम्पनी प्रालि, रामबहादुर राना मुख्य व्यक्ति रहेको अर्घाखाँचीको लक्ष्मी निर्माण सेवा, प्रकाश कोइराला मुख्य व्यक्ति रहेको धादिङको जलेश्वर निर्माण सेवा, माधबबहादुर घिमिरे मुख्य व्यक्ति रहेको कुरिनटारको डिभी घिमिरे कन्स्ट्रक्सन, पुष्करप्रसाद मुख्य व्यक्ति रहेको चितवनको अञ्जना निर्माण सेवा छन् ।
कार्यालयका अनुसार रानीकुमारी रौनियार मुख्य व्यक्ति रहेको पर्साको दिल्ली ट्रेडिङ र शिवहरि पुडासैनी मुख्य व्यक्ति रहेको पोखराको बी म्यानेजमेन्ट प्रालि पनि कालोसूचीमा परेका छन् ।
कालोसूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । डडेल्धुराको राष्ट्र निर्माण सेवालाई तीन वर्ष र बाँकी कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको कार्यालयको भनाइ छ ।









