काठमाडौं– सन् २००७ मा चलचित्र ‘पर्खी बसें’बाट अभिनय सुरु गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’मा अभिनय गर्ने भएका छन् । पछिल्लो समय ‘हाइवे टू धम्पुस’मा देखापरेका उनी झण्डै १० वर्षपछि अभिनय गर्दै छन् । ‘आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्त्वपूर्ण मध्येको एक हो,’ अभिनेता कोइरालाले भने, ‘मेरो छायांकन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।’

अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषय माग र आवश्यकतामा आधारित हुने बताए । अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपश्चात अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए । ‘हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौं । चलचित्रलाई बिनासम्झौता तयार गर्नेछौं,’ उनले भने, ‘यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायांकन नै उतै गर्दैछौं ।’

अभिनेता कोइरालाले अभिनय गरेको गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टू धम्पुसलगायतका चलचित्रको चर्चा हुने गर्छ । उनले सात वर्षमा २७ चलचित्रमा अभिनय गरेका थिए ।

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायांकनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए । यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायांकन, एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा चलचित्र प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय