काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबारसम्बन्धी एकिकृत निर्देशिका छिट्टै जारी हुने बताएका छन् । देशभरका सुनचाँदी पेसा व्यवसायसँग सम्बन्धित दुईवटै महासंघको आग्रह अनुरुप आवश्यक अध्ययन गरी नीति जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधिमण्डलले बिहीबार उनकै कार्यकक्षमा भेट गरी व्यवसायीले भोग्नुपरेका समस्या अवगत गराएका थिए ।

त्यसक्रममा उनीहरुले व्यवसायीहरुको मागलाई राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने समेत बताएका थिए । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायवाट यसको सुनुवाई नभएको भन्दै उनीहरुलले यसप्रति असन्तुष्टि समेत जनाए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार सम्बन्धी प्रस्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको बताए ।

त्यसक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आआफ्नो तर्फबाट व्यवसायीका समस्या जानकारी गराएका थिए । भेटका क्रममा दुईवटै महासंघका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय