काठमाडौं– एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा स्थापित एसिया प्यासिफिक एडभान्स नेटवर्कको ५५औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपालमा पहिलोपटक आयोजना भएको कार्यक्रममा विभिन्न १७ देशका ३०० जनाभन्दा बढीको उपस्थिति रहेको छ ।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यक्रमको उद्घाटन गरिन् । उद्घाटन सत्रमा बोल्दै मन्त्री शर्माले राज्यको मात्र होइन प्रविधिमा काम गर्ने संघसंस्था, विश्वविद्यालय तथा विज्ञहरुले समेत प्रविधिलाई गुणस्तरीय बनाउने र सर्वसाधारणको पहुँचमा पुर्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । यस क्षेत्रमा लगानी बढाउनुपर्ने पनि उनले बताइन् ।

प्रविधिको विकाससँगै डिजिटल डिभाइड पनि बढ्दै गएको भन्दै मन्त्री शर्माले डिजिटल डिभाइडको खाडल कम गर्ने गरी काम गर्नुपर्ने बताइन् ।

डिजिटल नेपाल फ्रेमवर्कको अतिरिक्त, आइसिटी क्षेत्रमा अनुसन्धानको महत्त्वलाई पनि जोड दिएको भन्दै उनले अनुसन्धान आविष्कार र विकासको मेरुदण्ड रहेको बताइन् । ‘हाम्रो सही नीति, रणनीति र लगानीले नेपाल आविष्कारको हब र आइसिटी क्षेत्रमा अग्रणी बन्न सक्नेछ,’ उनले भनिन् ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. प्रमिलादेवी बज्राचार्यले नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धानको लागि पहल गरिरहेको बताउँदै यस्ता कार्यक्रममार्फत सरकारले अन्तर्रास्ट्रिय विज्ञहरुसँग सहकार्य गर्ने अवसर प्राप्त हुने बताइन् । कार्यक्रममा एपानका अध्यक्ष जीलोङ वाङले नेपालले पहिलोपटक गरेको कार्यक्रमको प्रसंसा गर्दै नेपाल सरकारसँगको सहकार्यले वैज्ञानिक अनुसन्धान र अन्तर्राष्ट्रिय समुदायबीचको सहकार्यलाई थप सबल बनाउने बताए ।

सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको संस्था एनरेनले आयोजना गरेको एपान कार्यक्रम नेपालमा पहिलोपटक आयोजना भएको हो । विगत २५ वर्षदेखि एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयसँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रमा आयोजना गर्दै आएको मूल आयोजक समितिका अध्यक्ष लोचनलाल अमात्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय