काठमाडौं– नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवशायी अर्थात मर्चेन्ट बैंकरको लाईसेन्स प्रदान गरेको छ ।

गतवर्ष नै पुँजी बजारका सक्रिय लगानीकर्ता र गैरआवासीय नेपालीको लगानीमा स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरको रुपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष डा. रमेशकुमार हमालले बुधबार एक समारोहबीच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गर्नुभयो । क्यापिटलले आगामी साता औपचारिक उदघाटन गरी कारोबार सुरु गर्ने जनाएको छ ।

एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ । सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी, धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) र डिपी सेवा समेत दिने क्यापिटलले जनाएको छ ।

२२ करोड ५० लाख पुँजी रहेको क्यापिटलले थप प्रक्रिया पूरा गरेर निकट भविष्यमै प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल र म्युचुअल फन्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

व्यवसायिक व्यक्ति तथा संस्थाहरुको लगानी र दक्ष व्यवस्थापनमार्फत कारोवार शुरु गरेको एलिट क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्किम ल्याउने जनाएको छ ।

हाल सञ्चालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकरमध्ये यो पछिल्लोपटक स्थापना भएको मर्चेन्ट बैंकर हो । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाइसेन्स दिएको थिएन ।

सञ्चालनमा रहेका मर्चेन्ट बैंकरमध्ये झन्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गैसकेका वा जाने क्रममा छ । नेपालमा मर्चेन्ट बैंकरको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा एलिट क्यापिटलले पूर्ण व्यवसायिक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय