काठमाडौं– भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरु आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए ।

निषेधित क्षेत्रमा धर्ना बसेपछि तीनजनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त अनामनगर लगिएको प्रहरी वृत्त अनामनगरका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । लगानीकर्ता तिलक कोइराला, नयन बाँस्तोला र अर्जुन कोइरालालाई गिरफ्तार गरिएको छ । पुँजीबजारसम्बन्धी सुझाव प्रतिवेदन कार्यान्वयनको माग लिएर लगानीकर्ता नेप्सेको कार्यालयमा भेला भएका थिए ।

कार्यालय पुगेका लगानीकर्तालाई नेप्सेका कम्पनी सचिव मुराहरी पराजुलीले छलफलमा बस्न भने पनि लगानीकर्ताले अध्यक्षसँग बाहेक अरुसँग कुरा नगर्ने भन्दै धर्ना दिएर बसेका थिए ।

कोइरालाले पुँजीबजार सुधारका लागि सुझाव प्रतिवेदन कार्यान्वयनको माग राखेको बताए । ‘हाम्रो माग ५८ बुँदे सुझाव प्रतिवेदन कार्यान्वयन होस् भन्ने हो । पटक–पटक आग्रह गर्दा पनि कार्यान्वयन नभएपछि उक्त प्रतिवेदनका सबै सुझाव अक्षरसः पालना हुनुपर्छ भनेर दबाब दिन भेला भएका हौं,’ उनले भने ।

पुँजीबजार सुधारका लागि करिब पाँच वर्षअघि तयार पारिएको ‘मुद्रा तथा पुँजीबजारमा देखिएका प्रवृत्तिको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन, २०७५’ का सुझाव पालना हुनुपर्ने लगानीकर्ताको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय