काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनामा लाभांशबापत करिब साढे १३ अर्ब रकम विदेशिएको छ । उद्योग विभागले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिश गरेको हो ।

विभागले आठ महिनामा रोयल्टीबापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारतीय रुपैयाँ तथा ७ हजार युरो विदेश लैजान दिन सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

फागुनमा मात्रै ३ अर्बको सिफारिस
विभागले फागुनमा मात्रै लाभांशबापत करिब ३ अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५३७ रुपैयाँ, २ लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

शाखाका प्रमुख शंकरसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ । ‘गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ,’ उनले भने ।

चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, एक सय ५० जना प्रतिनिधि र तीन सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म दुई सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार एक सय ९६ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय