काठमाडौं– आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्घित अशोक लेलैन्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास सोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको सुरु गरेको जानकारी दिएको छ ।
ग्राहकहरूका लागि नयाँ र समसामयीक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्स÷अशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको हो ।
नयाँ सुविधायुक्त सेवा पोखरा–बाग्लुङ राजमार्गको पर्स्याङमा छ । छिटो र भरपर्दो ‘बिक्रीपछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध छ । अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ । हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट र २० आउटलेट सञ्चालनमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
अत्याधुनिक सोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने बताइएको छ । ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्ने छन् ।
‘आधिकारिक सर्भिस सेन्टर, पीके ट्रेडिङसँग अनुभवी तथा तालिमप्राप्त र सीपयुक्त प्राविधिकको समूह छ, जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारी साधन मोडलमा भएका समस्याको समाधान र मर्मत गर्न सक्छन्,’ विज्ञप्तिमा भनिएको छ । मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्टले सुसज्जित छ । सवारी साधन चलायमान गराई राख्नका लागि सर्भिस सेन्टरले नियमित मर्मत सेवा समेत प्रदान गर्छ ।
स्पेयर पार्ट्स डिपार्टमेन्टले सबै प्रकारका कमर्सियल सवारी साधनका लागि उपयुक्त जेन्युइन पार्ट्सको स्टक उपलब्ध गराउँछ । आफ्नो सवारी साधनमा फिट हुने र प्रभावकारी रुपमा कार्य गर्ने गरी डिजाइन गरिएका स्पेयर पार्ट्स यहाँ उपलब्ध हुने भएकाले ग्राहक ढुक्क हुन सक्छन् । कम्पनीले आफ्ना ग्राहकलाई उच्च स्तरको सेवा उपलब्ध गराउन यो नयाँ सोरुम र सर्भिस सेन्टरमा लगानी गरेको हो ।
सोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, ‘हाम्रो प्रतिबद्ध ग्राहककेन्द्रित रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरसिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं । नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ ।’









