काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग सोमबार भेटवार्ता गरेको छ । चेम्बरले नवनियुक्त उपराष्ट्रपति यादवलाई भेटेर बधाई दिएपछि आर्थिक विषयमा छलफल गरेको हो. ।

सो भेटमा उपराष्ट्रपति यादवले अर्थतन्त्रको वर्तमान अवस्था जोखिममा रहेको बताएको चेम्बरको विज्ञप्तिमा उल्लेख छ । तरलता अभाव, उच्च ब्याजदर, पूँजीगत खर्च समयमै हुन नसक्नु, बेरोजगारी जस्ता समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाइ छ ।

उपराष्ट्रपति यादवले भने, ‘अर्थतन्त्रमा हाल देखिएका समस्याको दिर्घकालिन समाधान खोज्न जरुरी छ, ।’ सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यक रहेकोमा समेत उनले जोड दिए ।

चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफूले सरकारी निकायहरुमा ध्यानाकर्षण गराउने उपराष्ट्रपति यादवले बताए । मुलुकमा वास्तविक तथ्यांकको अभावमा सरकारी लगानीको प्रतिफल आउन नसकेको उपराष्ट्रपति यादवले गुनासो गरे । निजी क्षेत्र पनि सरकारको सारथीको रुपमा अध्ययन अनुसन्धानमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले आर्थिक, औद्योगिक, सामाजिक एवं अन्य क्षेत्रमा लगानी गर्नुअघि वास्तविक तथ्यांक खोज्नुपर्ने उनको भनाइ छ ।

उपराष्ट्रपति यादवसँगको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गरीदिन आग्रह गरे ।

अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीहरुमा गम्भिर असर गरेको छ, ।’

पूँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । राजस्व विभाग, राहदानी विभाग, यातायात जस्ता कार्यालयमा समयतालिका लागू हुनुपर्ने अध्यक्ष मल्ललको भनाइ छ ।

आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । नयाँ कर्जा प्रवाह गर्दा ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्ने आफूहरुको माग रहेको मल्लले बताए । लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरु मर्कामा नपर्ने चेम्बरको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय