काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेस’मा अनाधिकृत पहुँच पुर्याई हमला गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका–१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१६ मा घरधनीको इन्टरनेट प्रयोग गरी बस्ने २१ वर्षका सागर ढकाल रहेका छन् ।
ब्यूरोको अनुसन्धानका क्रममा उनी पोखरामा रहेको थाहा पाएपछि ब्यूरोको टोलीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।
नेपाली सेनाबाट केही अघि साइबर स्पेसमा पहुँच पुर्याई साइबर हमला भएको देखिन आएकाले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ब्यूरोमा पत्राचार भएको थियो । सोही पत्राचारका आधारमा साइबर हमलाको प्राविधिक विश्लेषण, ह्युमन इन्टेलिजेन्स तथा अनुसन्धानका आधारमा उक्त ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।









