काठमाडौं– आर्थिक वर्ष २०७९–८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत पुगेको छ, जुन सरकारले राखेको लक्ष्यभन्दा बढी हो ।

चालु आवमा मुद्रास्फीति ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले बढेको छ । यही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड बराबर रहेको छ ।

अहिलेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव ४ महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । आठ महिना अवधिमा संघीय सरकारको खर्च ७ खर्ब ७९ अर्ब २३ करोड र राजस्व परिचालन ५ खर्ब ८२ अर्ब ७७ करोड बराबर रहेको छ । फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको हो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.५ प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत बराबर हो । फागुन मसान्तसम्ममा आयात १९.१ प्रतिशतले, निर्यात २९.१ र वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय