काठमाडौं– वाणिज्य बैंकको निक्षेपको ब्याजदर झन्डै डेढ वर्षपछि एकल अंकमा झरेको छ । वाणिज्य बैंकहरुले वैशाखमा निक्षेपकर्तालाई एकल अंकमा ब्याज दिने गरी चैत अन्तिम दिन ब्याजदर प्रकाशित गरेका छन् ।

विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप ब्याजदर भने अझै दोहोरो अंकमै छ । वाणिज्य बैंकको निक्षेपको ब्याजदर डेढ वर्षअघि दोहोरो अंकमा उक्लिएको थियो ।

बिहीबार प्रकाशित ब्याजदर अनुसार वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गरेका छ । चैतसम्म मुद्दती निक्षेपमा ११ प्रतिशतका दरले ब्याज प्रदान गरिरहेका वाणिज्य बैंकहरुले अब वैशाखदेखि ९.९९ प्रतिशत ब्याज दिने भएका छन् ।

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको र ब्याजदर घटाउन चौतर्फि चर्को दबाबपछि नेपाल बैंकर्स संघले बुधबार ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार यस दिन वाणिज्य बैंकहरुले ब्याजदर एकल अंकमा झारेका हुन् ।

वाणिज्य बैंकहरुको ब्याजदर घटेसँगै विकास बैंक तथा फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाएका छन् । चैतमा अधिकतम ११.६० प्रतिशतका दरले ब्याज दिइरहेका अधिकांश विकास बैंकहरुले वैशाख महिनामा भने १०.६० प्रतिशत ब्याजदर दिने भएका छन् ।

चैतमा अधिकतममा १२ प्रतिशत ब्याजदर प्रदान गर्दै आइरहेका अधिकांश फाइनान्स कम्पनीले वैशाखदेखि अधिकतममा ११.२५ प्रतिशतका दरले ब्याजदर दिने भएका छन् । फाइनान्सहरुले २ वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय