काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रेसबाट रामचन्द्र संघई बाहिरिएका छन् । पहिलो चरणमा निर्वाचित हुन आवश्यक पर्ने ५० प्रतिशत मत कुनै पनि उम्मेदवारले कटाउन नसकेपछि दोस्रो चरणमा पहिलो र दोस्रो उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणको मतदानमा संघई तेस्रो भएपछि मैदानबाट बाहिरिएका हुन् ।
दोस्रो चरणको निर्वाचन बिहीबार दिउँसो साढे ३ बजे हुने तय भएको छ । कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा पहिलो चरणमा रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।
निर्वाचन समितिका अनुसार, अन्जनले ३७.९९, उमेशलालले ३१.५१ र रामचन्द्रले ३०.४६ मतभार पाएका छन् । महासंघको विधान अनुसार कम मतभार हुने स्वतः प्रतिस्पर्धाबाट बाहिरिन्छ ।
वस्तुगततर्फ अन्जनले ६.७२, उमेशललाले ११.३१ र रामचन्द्रले १.९६ प्रतिशत मतभार पाएका थिए ।
यसैगरी जिल्ला, नगरतर्फ अन्जले २०.६१, उमेशलालले १२.२८ र रामचन्द्रले १७.१० मतभार पाएका थिए ।
एसोसिएट्सतर्फ अन्जनले १०.६६, उमेशलालले ७.९२ र रामचन्द्रले ११.४० मतभार पाएको निर्वाचन समितिले जानकारी दिएको छ ।









