काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा निजी क्षेत्रको नेतृत्व चन्द्रप्रसाद ढकालले सम्हालेका छन् । पहिलो पुस्ताका सफल उद्यमी ढकालले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानअनुसार बिहीबार महासंघको नेतृत्व सम्हालेका हुन् ।

महासंघको दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
महासंघ अध्यक्षको रुपमा ढकालले अबको कार्यकालमा पाँचवटा विषयहरु पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रोे– लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने र पाँचौ– व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेका छन् ।

महासंघको ५७औं साधारणसभाबाट बिहीवार नै अध्यक्ष निर्वाचित ढकाल, आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले २०४५ बाट व्यवसाय सुरु गरेका हुन् ।

२०४८ सालमा कार्गो कम्पनी हँुदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जनभन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई संख्यामा अप्रत्यक्ष रोजगारी दिएको छ ।

ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् ।

ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजीटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपका हिस्सेदारी छ ।

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केबलकारसहितका नयाँ पर्यटकीय गन्तव्य निर्माणमा सक्रिय छन् ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी वस्तुगततर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य र जिल्ला नगर उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय