काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनामा करिब साढे १४ अर्ब बिदेसिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको ९ महिनाको तथ्यांक अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंबापत बाहिरिएको हो ।
विभागले यस अवधिमा रोयल्टीबापत २ अर्ब ११ करोड ६ हजार ६ सय ३४ रुपैयाँ, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र ७ हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ ।
विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।
चैत महिनामा सवा तीन अर्ब लाभांश फिर्ता
विभागले चैत महिनामा मात्रै ३ अर्ब १४ करोड ५३ लाख २२ हजार २ सय ३५ लाभांश विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत चैत महिनामा मात्रै २० करोड ६० लाख ९ हजार ५२६ रुपैयाँ, ७३ हजार ३१३ अमेरिकी डलर, १५ लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो ।
यस्तै, चालु आवको ९ महिनामा विभागले व्यवसायी भिसा अन्तर्गत १ हजार २ सय २४ जना लगानीकर्ता, १ सय ८६ जना प्रतिनिधि र ५ सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।
चैत महिनामा मात्रै विभागले १ सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र १ सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।
९ महिनामा २ सय ९८ वटा उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार ३ सय ७३ लगानी प्रतिबद्धता आएको छ । जसमा चैत महिनामा मात्रै ८ अर्ब ९१ करोड १२ लाख ६४ हजार ६ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ ।
विभागको तथ्यांक अनुसार हालसम्म ४ खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभाग अन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभांश रकम बाहिरिने अनुमान गरिएको जनाएको छ ।









