काठमाडौं– मुलुकको व्यापार घाटा पौने ११ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार रुपैयाँ पुगेको तथ्यांक बुधबार भन्सार विभागले सार्वजनिक गरेको छ ।
गत वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ थियो । यस वर्षको ९ महिनाको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.०६ प्रतिशतले कम हो ।
९ महिनामा ११ खर्ब १ अर्ब ५० करोडको आयात हुँदा एक खर्ब १८ अर्ब २७ करोड रूपैयाँ बराबरको निर्यात भएको छ । देशको कुल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख पुगेको छ ।
आर्थिक वर्ष २०७८–७९ को तुलनामा चालु आवको ९ महिनामा कुल व्यापार १८.८९ प्रतिशतले घटेको छ । गत आवमा कुल १६ खर्ब २७ अर्ब २३ करोड बराबरको व्यापार भएको थियो ।
अघिल्लो वर्ष साउनदेखि चैतसम्ममा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकोमा चालु वर्षको सो अवधिमा १८.०८ प्रतिशतले घटेर १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षको ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड बराबरको माल वस्तु निर्यात भएकोमा चालु आवको ९ महिनामा २६.३४ प्रतिशतले ओरालो लागेर १ खर्ब १८ अर्ब २७ करोड बराबरको वस्तु निर्यात भएको हो ।









