काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा बुधबार अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको छ ।
उक्त सभाले कम्पनीले विशेष प्रस्तावको रुपमा पेस गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गरी तीनवटा कम्पनी मर्जर गर्ने र मर्जरपश्चात हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड नामको कम्पनीबाट कारोबार गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी, कम्पनीहरुको सेयर अनुपात १ः१ः१ कायम गर्ने, हालसम्म तीनवटा कम्पनी मर्जर गर्ने सम्बन्धमा भएका सम्पूर्ण कार्यको अनुमोदन गर्ने र तीनवटा कम्पनीको मर्जर गरी एकीकृत कारोबार गर्न विभिन्न निकायमा गर्नुपर्ने आवश्यक कार्य गर्न कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
सभामा पेस गरिएका सबै विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।









