लमजुङ– डुम्रे बेसीसहर सडक अन्तर्गत बेसीसहर नगरपालिका–१ स्थित उदीपुर खण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मतका लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो ।
डुम्रे बेसीसहर चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, ‘सडक मर्मत गर्नका लागि आगामी जेठको पहिलो हप्तासम्म सडक बन्द गर्न लागेका छौं ।’ सडक निर्माण अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण हुने भएको छ । सो अवधिमा यात्रुवाहक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन सडक प्रयोगमा ल्याइनेछ भने मालबाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लगाइएको उनको भनाइ छ ।
यहाँ दुई वर्षदेखि निरन्तर पहिराका कारण अस्थायी रुपमा सडक व्यवस्थापन गर्दै आए पनि दैनिकजसो सुक्खा पहिराले पटक पटक सडक अवरुद्ध हुने मात्र नभई ज्यानै जोखिममा रहँदै यात्रुहरु यात्रा गर्न बाध्य हुँदै आएको थियो । उदिपुरमा पहिराले सडक भत्किएसँगै २०७८ भदौदेखि नै यात्रुहरुले सास्ती भोक्दै आएका छन् । सोही पहिराका कारण विभिन्न सवारी साधन दुर्घटनासमेत भएको थियो ।
त्यस्तै, यस सडक खण्ड बन्द हुने भएपछि बेसीसहर नगरपालिकाले वैकल्पिक सडकको स्तरोन्नति गरेको छ । सोही स्थल नजिकैबाट करिब एक किलोमिटर सडक नगरपालिकाको १० लाख रुपैयाँ लागतमा सडक स्तरोन्नति सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।









