काठमाडौं– कुनै समय आयातित तयारी पोसाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोसाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्दै गएपछि तयारी पोसाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोसाक उत्पादक संघको भनाइ छ ।
कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । तत्कालीन समयमा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीका कारण आयात ठप्प जस्तै भयो । तत्कालीन समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको संघको बुझाइ छ ।
कोरोना महामारीअघि विभिन्न नाममा स्वदेशी तयारी पोसाक बिक्री हुने गरे पनि त्यसपछि भने नेपाली ब्रान्डमै बढी उत्पादन हुन थालेको जानकार बताउँछन् । संघको तथ्यांकअनुसार कोरोना महामारी सुुरु हुनुअघि सन् २०१८–१९ मा नेपालमा ३१ अर्ब ८३ करोड बराबरको तयारी पोसाक विभिन्न देशबाट आयात भएको थियो । सन् २०२०–२१ मा २४ अर्ब २ करोडको पोसाक आयात भएको थियो ।
‘कोरोना महामारी सुरु भएपछि तयारी पोसाकको आयात ८ अर्बले घटेको देखिन्छ,’ संघका अध्यक्ष किशोर नेपालले भने, ‘लकडाउनका कारण आयात नभएपछि त्यो ‘स्पेस’ स्वदेशी उत्पादक कम्पनीले पूरा गरेका हुन् ।’ स्वदेशी तयारी पोसाक उत्पादक कम्पनीले गुणस्तरमा ध्यान दिन थालेपछि माग पनि बढ्न थालेको उनको भनाइ छ ।
संघका अनुसार एकजना व्यक्तिले वर्षमा औसतमा ४० मिटर वा १२ जोर तयारी पोसाक खपत गर्छ । जसमध्ये हाल ३३ प्रतिशत हिस्सा स्वदेशी उत्पादनको रहेको संघको भनाइ छ । ‘सन् २०२१–२२ मा २२ करोड ४ लाख ८१ हजार ४२० थान तयारी पोसाक आयात भएको छ,’ अध्यक्ष नेपालले भने, ‘विदेश गएकालाई छाडेर २ करोड ५० लाख जनसंख्यालाई हिसाब गर्ने हो भने औसतमा आठवटा पर्छ, बाँकी चारवटा स्वदेशी उत्पादनबाट खपत भएको छ ।’ उनका अनुसार कोरोनाअघि १० प्रतिशत रहेको स्वदेशी उत्पादनको बजार हिस्सा यतिबेला बढेर ३३ प्रतिशतभन्दा बढी पुगेको छ ।
उनका अनुसार नेपालमा वार्षिक २० करोडदेखि २२ करोड जोरसम्म तयारी पोसाक आयात हुने गरेको छ । यद्यपि कोरोना महामारीका कारण लकडाउन भएको वर्ष भने १५ करोड जोरमा सीमित भएको थियो ।
‘नयाँ पुस्ताको छनोटमा नेपाली उत्पादन पर्न थालेका छन्, जुन हाम्रा लागि खुसीको कुरा हो,’ उनले भने, ‘बजारीकरण र प्रवर्द्धनमा ध्यान दिन सकियो भने निर्यातको सम्भावना पनि उत्तिकै छ ।’ तयारी पोसाकका लागि प्रयोग हुने ५० प्रतिशतभन्दा बढी कच्चा पदार्थ पनि आयात गर्न नपर्ने उनको भनाइ छ ।
अध्यक्ष नेपालका अनुसार पछिल्लो समय बजारमा माग बढे पनि जनशक्ति अभावले माग अनुसारको आपूर्ति हुन सकेको छैन । कुल कामदारमध्ये नेपाली २० प्रतिशत मात्रै छन् । बाँकी ८० प्रतिशत जनशक्ति भारतलगायत अन्य मुलुकबाट ल्याउनु पर्ने अवस्था छ । नेपाली दक्ष जनशक्ति उत्पादनका लागि संघले समेत विभिन्न तालिम दिने गरेको छ ।
संघका अनुसार काठमाडौं उपत्यकामा मात्रै चार सयभन्दा धेरै उद्योग सञ्चालनमा छन् । यहाँ उत्पादन हुने तयारी पोशाक काठमाडौँ बाहिरको बजारसम्म पुग्ने गरेको संघको भनाइ छ । संघका अनुसार देशभर सञ्चालित करिब ५०० उद्योगले वार्षिक २५ अर्बको कारोबार गर्दै आएका छन् ।
कोभिडपछि बजारको माग अनुसार डिजाइन र गुणस्तरमा ध्यान दिन थालेपछि सबै उमेर समूहले मन पराउन थालेको गार्मेन्ट व्यवसायी पूजा जोशीले बताइन् ।
संघका उपाध्यक्ष राजकुमार कार्कीले स्वदेशमै जनशक्ति उत्पादनका लागि सुदूरपश्चिम प्रदेशमा तीन सयभन्दा बढी मुक्त कमलरीलाई निःशुल्क तालिमका साथै रोजगारी पनि उपलब्ध गराएको जानकारी दिए । उनले भने, ‘अहिलेको जनशक्तिले माग अनुसारको उत्पादन गर्न सक्ने अवस्था छैन । जनशक्ति उत्पादनका लागि तालिममा जोड दिएका छौं ।’ उनका अनुसार हाल नेपाली तयारी पोसाक उत्पादक संघ र अल्कापुरी फाउन्डेसनबीच सहकार्य गर्दै जनशक्ति उत्पादन गर्ने र पोसाक उत्पादन गर्दै आएको छ ।
निर्यात पनि
नेपालमा उत्पादित तयारी पोसाक विभिन्न १० भन्दा बढी देशमा निर्यात भइरहेको संघले जनाएको छ । हाल चीन, भारत, थाइल्यान्ड, इन्डोनोसिया, बङगलादेश, कोम्बिया, भियतनाम, जापान, बेलायत र यूएईलगायत देशमा यहाँ उत्पादित तयारी पोसाक निर्यात भइरहेको छ ।
नेपालमा उत्पादित सिस्नो, अल्लो, मकैको खोस्टा, भेडाको ऊन जस्ता कच्चापदार्थको प्रयोगबाट राम्रो उत्पादन हुने भए पनि मूल्यवृद्धिका कारण केही कच्चापदार्थ महँगो परेको संघको भनाइ छ ।









