चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं–२ बाट फराकिलो मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार ९६२ बढी मत ल्याएर उनी निर्वाचित भएका हुन् ।
लामिछानेले ५४ हजार १७६ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका छन् । राप्रपाका जीवलाल पुरीलाई ३७५ जनाले मत दिएका छन् ।
चितवन क्षेत्र नं २ मा ७८ हजार ६६४ मत खसेको थियो । सोमध्ये १ हजार १९८ मत बदर भई ७७ हजार ७६६ सदर भएको थियो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ मतदाता रहेका थिए ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित लामिछानेले त्यतिबेला ४९ हजार २सय ६४ मत प्राप्त गरेका थिए । ऊबेला नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ र राप्रपाका रवीन अधिकारीले ९५५ मत पाएका थिए ।
नागरिकता विवादमा लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन भएको हो ।









