मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो भत्ता रकम विपन्न परिवारको बिमामा खर्च गर्ने भएका छन् । उनले वडाध्यक्षलाई उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्चसमेत दिएका छैनन् ।

उनले भने, ‘मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ, उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै छु, वडाको सवारी साधन प्रयोग गरेको छैन, म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन ।’

यसैबीच वडा नम्बर ४ ले वृद्धभत्ता घर–घरमै पुगेर वितरण गर्दै आएको छ । उनले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको बिल भर्पाईसमेत कार्यालयमा पेस नगरेको बताए । वडाध्यक्ष उप्रेतीले भने, ‘हामीले घर–घरमा पुगेर वृद्धभत्ता वितरण गरेका छौं । सोबापत हुने खर्चसमेत कार्यालयमा पेस गरेका छैनौं । ग्लोबल आइएमई बैंकले टोलटोलमा कर्मचारी खटाएर वृद्धभत्ता वितरण गर्न हामीलाई सहयोग गरेको छ ।’

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय उनले असहाय रोगीको उपचारका लागि आर्थिक सहयोग गर्दै आएका छन् । साथै शिक्षा, खेलकुदलगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् ।

आफूले आगामी दिनमा पनि वडाध्यक्षबापत पाउने सेवा सुविधा नलिने बताए । ‘मैले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा सहयोग गर्दै आएको हुँ म आगामी दिनमा पनि सेवा सुविधा लिने छैन, नसक्ने अवस्था भए अर्को कुरा, म सकेको दिन्छु, लिन आएको होइन,’ वडाध्यक्ष उप्रेतीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय