काठमाडौं– गत अप्रिलमा ९८ हजारभन्दा बढी विदेशी पर्यटक हवाई मार्गबाट नेपाल प्रवेश गरेका छन् ।
नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको तथ्यांकको आधारमा दिएको जानकारी अनुसार यो अघिल्लो वर्ष अप्रिलको तुलनामा ६० प्रतिशतले बढी हो । पोहोर अप्रिलमा ६१ हजार ५८९ जना विदेशी नेपाल आएका थिए । यो वर्ष ९८ हजार ७७३ जना आएका छन् ।
अप्रिलमा सार्क क्षेत्रबाट ३५ हजार ४४३, अन्य एसियाली मुलुकबाट १४ हजार ६५५, युरोपबाट २४ हजार ३९३, ओसेनियाबाट ४ हजार २२२ र अमेरिकी मुलुकबाट १० हजार ५० पर्यटक नेपाल आएका छन् । त्यस बाहेकका अन्य देशबाट ९ हजार ९७५ जना आएको बोर्डको भनाइ छ ।
अघिल्लो वर्ष अप्रिलमा ६१ हजार ५८९ विदेशी हवाई मार्ग हुँदै नेपाल आएका थिए । मार्च–अप्रिललाई पर्यटकीय सिजन मानिन्छ । सगरमाथा लगायत अनय हिमाल आरोहण गर्नेहरु यही बेला बढी मात्रामा नेपाल आउँछन् ।









