काठमाडौं– चालु आर्थिक वर्ष २०७९–८० अन्त्यसम्ममा नेपाली अर्थतन्त्रको आकार (कुल गार्हस्थ उत्पादन–जिडिपी) उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको तुलनामा उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशतले बढी हो ।

तथ्यांक कार्यालयले गरेको अनुमान सरकाले बजेटमा राखेको आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशतको तुलनामा निकै कम हो । कार्यालयको अनुमान विश्व बैंक, एसियाली विकास बैंक जस्ता निकायले गरेको अनुमानभन्दा पनि कम हो ।

विश्व बैंक र एसियाली विकास बैंकले यो वर्ष नेपालको कुल गार्हस्थ उत्पादन वृद्धिदर ४.१ प्रतिशत हुने अनुमान केही दिनअघि सार्वजनिक गरेका थिए ।

कार्यालयले चालू आर्थिक वर्ष २०७९–८० को ६ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरुसँग सम्बन्धित यथार्थ आंकडा र सूचनाको आधारमा राष्ट्रिय लेखा नथ्यांक तयार गरेको हो । लेखा तथ्यांकअनुसार यो वर्ष कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान बढेको छ भने प्राथमिक र द्वितीय क्षेत्रको योगदान अघिल्लो वर्षको तुलनमा घटेको छ ।

यो आर्थिक वर्षको जिडिपीमा प्राथमिक क्षेत्रको योगदान २४.६ प्रतिशत हुनेछ । प्राथमिक क्षेत्रमा कृषि, बन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्र पर्छ ।

उद्योग, विद्युत्, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप र निर्माण क्षेत्र समेटिने द्वितीय क्षेत्रले जिडिपीमा १२.९ प्रतिशत योगदान दिने कार्यालयको अनुमान छ ।

त्यसैगरी, थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार, वित्तीय तथा बिमा क्षेत्र, घरजग्गा कारोबार, पेशागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा स्वास्थ्य र अन्य सेवा समेटिने सेवा क्षेत्रको योगदान ६२.४ प्रतिशत रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय