काठमाडौं– नेपालीको प्रतिव्यक्ति आय यो वर्ष १३९९ अमेरिकी डलर पुग्ने भएको छ । यो भनेको भनेको हालको विनिमयदर अनुसार १ लाख ८२ हजार ६८३ रुपैयाँ बराबर हो । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरण अनुसार प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलर १३९९ र प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन अमेरिकी डलर १४१० बराबर हुनेछ ।

यसवर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर उपभोक्ता मूल्यमा १.८५ प्रतिशत र आधारभूत मूल्यमा २.१३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । तथ्यांक कार्यालयका अनुसार चालु आवमा नेपालको जिडिपीको आकार आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड र उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ ।

जिडिपी अनुपातमा नेपालको कुल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५.२१ प्रतिशत अर्थात् १३ खर्ब ५६ अर्ब ४६ करोड रुपैयाँ बराबर पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्सेन्डिचर) जिडिपी अनुपातको ९३.५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यो ५० खर्ब ३६ अर्ब १५ करोड रुपैयाँ बराबर हो ।

जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा ७.१५ प्रतिशत बराबर छ । यसवर्ष ३ खर्ब ८५ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ । जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६.५ प्रतिशत बराबर छ । नेपालले यस वर्ष १९ खर्ब ६४ अर्ब ३३ करोड बराबर आयात गर्ने ठानिएको छ ।

त्यसैगरी चालु मूल्यमा राष्ट्रिय बचत (ग्रस नेसनल सेभिङ) कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत बराबर हुनेछ । त्यस्तै जिडिपीमा विप्रेषणको अनुपात २२.८९ प्रतिशत बराबर पुग्ने अनुमान छ । चालु आवको जिडिपीमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ । गत आवमा कृषि क्षेत्रले जिडिपीमा २४.६७ प्रतिशत बराबर हिस्सा ओगटेकामा यस वर्ष त्यो घटेर २४.१२ प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ ।

तथ्यांक कार्यालयले चालु आवको पछिल्लो नौ महिना अवधिको तथ्यांक विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय