काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको छ । २०५८ वैशाख २१ गते स्थापित कम्पनीले विभिन्न कार्यक्रमहरु गरेर भव्यताका साथ वार्षिकोत्सव मनाएको जानकारी दिएको छ ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ग्राहकले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ता, मार्गनिर्देशन गर्ने सञ्चालक पदाधिकारी, आरोह अवरोहमा साथ दिने कर्मचारी, माया, स्नेह प्रदान गर्ने सेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायका साथै २२ वर्षको अवधिमा सहयोग गरी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न भूमिका खेल्ने सबै सरोकारवालामा धन्यवाद ज्ञापन गरेका छन् ।
आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहक सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए । यसका साथै सम्पूर्ण सरोकारवालाको अपेक्षा पूरा गर्न कम्पनी दत्तचित्त भएर लागि पर्ने उनको भनाइ छ ।
२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममार्फत कोसी प्रदेशको विर्तामोडमा ५६, मधेस प्रदेशको वीरगन्जमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौंमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल ३१० पिन्ट रगत संकलन गरिएको छ ।
किनकि जीवन अमूल्य छ नारा आत्मसात गर्दै जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको उक्र कम्पनीको गत चैत मसान्तसम्ममा लगानी १६२.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा करीब १५८ अर्ब रुपैयाँ सञ्चित छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना करीब १ सय ९२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।









