काठमाडौं– चितवनका व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा मुछिएका व्यवसायी प्रदिप रुंगटा खोज्न प्रहरीका सबै निकाय परिचालित भएका छन् । उक्त घटनामा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट (सिए) जीवन रावल रहेका छन् ।
भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । राति नै उनलाई चितवन ल्याइएको छ । आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए ।
भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुंगटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन् । सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् ।
रुंगटालाई पक्रिन नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत संगठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए । कँडेल मंगलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए । नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए ।
कांग्रेससहित उद्योगी व्यवसायीको अगुवाइमा बुधबार र बिहीबार भरतपुरमा बृहत् प्रदर्शन भएको थियो । कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुंगटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइट नोट’मा लेखेका छन् ।









