काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेताहरु मुछिएपछि सरकारमाथि दबाब जारी राखेका छन् । ओलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सो प्रकरणमा भइरहेको अनुसन्धानमाथि आफ्नो चासो रहेको सम्झाएका छन् ।

बिहीबार पनि ओलीले प्रधानमन्त्री भेटेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने प्रलोभन देखाएर करोडौं ठग्नेमा पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उपाध्यक्ष रामबहादुर थापाको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

शनिबारको भेटमा अध्यक्ष ओलीले उक्त प्रकरणमा भइरहेको अनुसन्धानमा चासो राखेको प्रधानमन्त्री दाहालले जानकारी दिए । तर आफू कसैको दबाबमा नपर्ने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीको अभिव्यक्तिले उनीमाथि अनुसन्धान अघि बढाउन दबाब परेको बुझ्न सकिन्छ ।

अध्यक्ष ओलीले भने आफूले दोषीलाई बचाउन खोजेको भन्ने गलत हल्ला चलाएको दाबी गरे । रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको पनि ओलीले बताए ।

गत बिहीबार भने ओलीले रायमाझी कतै भागेर नजाने दाबी गर्दै पक्राउ पुर्जी जारी भएकोमा आक्रोश पोखेका थिए । उनले रायमाझीविरुद्ध षडयन्त्रपूर्वक ढंगले एक्सन लिने काम भएको पनि बताएका थिए । ‘षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण छ,’ ओलीले भने, ‘भागेर कतै गइहाल्ने मान्छे त होइन । अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय