काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुधबार नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उसनका स्वकीय सचिवलाई पक्राउ गरेको छ ।
खाँडलाई प्रहरीले बुधबार बिहान काठमाडौंको मैजुबहालस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ । परिसर प्रमुख दानबहादुर कार्कीले खाँडलाई सोधपुछपछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताए ।
यही प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
प्रहरीले खाँडका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । केसीलाई काठमाडौंको जडीबुटीबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।
खाँड गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।









