गल्छी– धादिङको गल्छी गाउँपालिका–८, गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकलाई होटल मालिकले छुरा प्रहार गरी हत्या गरेका छन् ।
बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन् । आरोपितलाई राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी थिए ।
खाजा खाएपछि होटल सञ्चालक र ग्राहकबीच पैसा तिर्ने बेला भनाभन भएको बताइएको छ । खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिने क्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ । घटनापछि पण्डित फारर भएका थिए । घाइते थापामगरको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित ६ जनालाई पक्राउ गरेको छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक थिङले भने । घटनापछि स्थानीयवासीले गल्छी–त्रिशूली सडकखण्ड गए रातिदेखि नै बन्द गराएका छन् ।









