काठमाडौं– पर्यटकीय नगरी पोखरामा दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ ।

अन्नपूर्ण केबलकार नेपालमा सञ्चालित केबलकारमध्ये हिम शृंखलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केवलकार हो । कम्पनीले आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण केबलकारले कम्पनीको जारी पुँजी एक अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
२०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले सर्वसाधारणको लागि २० प्रतिशत आईपीओ निष्कासन गर्नेछ ।

केबलकारमा जनताको सहभागिता बढाउन २० प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले आइपिओ निकाल्ने छ ।

पाँच वर्ष अगाडि निर्माण सुरु भएको केबलकार कोभिडको कारण तोकिएको भन्दा दुई वर्ष ढिला गरी सञ्चालनमा ल्याइएको थियो । आइपिओ निष्कासनपछि कम्पनीले थप परियोजनामासमेत लगानी गर्ने योजना बनाएको गुरुङले जानकारी दिए ।

पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरस्थित अन्नपूर्ण केबलकारको बटम स्टेसन निर्माण गरिएको छ । यसको निर्माण लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए । केबलकार निर्माणको लागि कम्पनीले बैंकसँग १ अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो ।

केबलकारको माथिल्लो स्टेसन सराङकोटमा अहिले पञ्चमुखे गणेशको मूर्ति निर्माण भइरहेको छ । सो मूर्ति ४८ फिट अग्लो र ४४ फिट चौडाइको छ । यो मूर्ति विश्वकै ठूलोमध्ये एक हो ।

यसबाहेक भ्यू टावर, मूर्तिसहित अन्य संरचना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । केबलकार चढेर सराङकोटबाट सूर्योदय, सुर्यास्त तथा हिमालको दृष्य हेर्न सकिन्छ ।

विश्वकै पर्यटकीय सूचीमा रहेको पर्यटकीय नगरी पोखराको अन्नपूर्ण केवलकारबाट तीन किसिमका दृश्यावलोकन गर्न सकिनेछ ।
सूर्योदय, सूर्यास्त, हिम शृंखलासहित तालको समेत एकै स्थानबाट अवलोकन गर्न सकिनेछ ।

हिमालको सबैभन्दा नजिक रहेको केबलकार नेपालकै पहिलो हो । त्यतिमात्रै नभएर नेपालमा सञ्चालनमा रहेका केबलकारमध्ये विदेशी लगानी रहेको पनि यो पहिलो र एक हो ।

यस केबलकार परियोजनामा जापानिज निप्पोन केबलकारको प्रविधि प्रयोग गरी निर्माण गरिएको छ । २०७८ साल फागुनदेखि सञ्चालनमा आएको केबलकारमा क्याबिनसहित १८ वटा गोन्डोला छन् ।

केबलकारको सुरुको स्टेसनदेखि अन्तिमसम्म १३ वटा टावर छन् । एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न मिल्छ । एक घण्टामा ५ सय जना यात्रुले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय