काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहीबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्ड सामसुम पार्ने अवस्था भए सबै एकजुट भएर आन्दोलन गर्ने बताए ।

प्रतिपक्षी दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणर्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले यो प्रकरण मात्रै नभएर भ्रष्टाचार लागायत अन्य विभिन्न प्रकरणका फाइलहरु खोल्नुपर्ने बताए । ‘प्रचण्ड सरकारले गरेको राम्रा कामको लागि स्यालुट र साथ हुन्छ, तर आग्रह र पूर्वाग्रह राखेर निर्दोषलाई ताने विरुद्धमा आन्दोलन गरिन्छ,’ उनले भने ।

एमालेका निवर्तमान सचिव टोपबहादुर रायमाझीलाई पार्टीले जोगाउन खोजेको र आफ्नो संगठनले केही नबोलेको भन्ने आरोप सरासर झुटो भएको उनले बताए । आफ्नो माउपार्टी पनि भ्रष्टाचारविरोधी भएकोले दोषी जोसुकैलाई पनि सरकारले तान्ने र कारवाही गर्नसक्ने बताउँदै बडालले थपे, ‘टोपबहादुर रायमाझी कहाँ हुुनुहुन्छ ? किन भाग्नुभयो, पुलिससँग आत्मसमर्पण गर्नुस, निर्दोष सावित हुनुस्, अनेरास्ववियुले खोज्न नपरोस् ।’

सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति गौरवान्वित भएको बताइन् । अघिल्ला सरकारमा रहेकाहरुले यस्ता सयौं काण्डलाई बार्गेनिङ र राजनीतिक लेनदेनको अस्त्र बनाएको दृष्टान्तहरुलाई तोड्दै यो सरकारले हिम्मतिलो कामको सुरुवात गरेको सिंहले बताइन् । ‘दिनदहाडै सुनलाई पित्तल बानाउने प्रचलनलाई क्रमभंग गर्ने प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारलाई यही मञ्चबाट सलाम, तर देशी–विदेशीको दबाबसामु झुक्नुभयो भने माओवादी विरासत सकिने छ ।’

नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत स्वार्थ र दबाबमा नपरी अगाडी बढ्नुपर्ने धारणा राखे । आफूहरु सरकारको पक्षमा सडकबाट दबाब दिइरहेको र त्यसले निरन्तरता पाउने अध्यक्ष पराजुलीले बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले वर्तमान नक्कली भुटानी प्रकरणमा कुनै पनि हालतमा सरकारले खुट्टा कमाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए । अध्यक्ष गजुरेलले यस प्रकरणलाई टुंगोमा पुर्याएर भ्रष्टाचारका अरु फाइल पनि खोल्नुपर्ने धारणा राखे ।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष मिलन राईले सरकारको कदम स्वागतयोग्य भएको र यो प्रकरण सफल भए प्रचण्ड जनयुद्ध हाँक्न सफल भएजस्तै वर्तमान सत्ता पनि हाँक्न सफल हुने बताए । जनपक्षीय काममा आफू र आफ्नो संगठनको साथ रहने तर नराम्रा काममा खबरदारी रहने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय