काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएका छन् ।

अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायतमा विषयमा संघीय संसद्मा पनि प्रश्न उठेको तथा सरोकारवालाले यस विषयमा चासो देखाएको र उच्च अदालत पाटनमा यस विषयमा मुद्दा विचाराधीन रहेको अवस्थालाई ख्याल गरेर प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् ।

यही वैशाख २६ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । धितोपत्र बोर्डले आयशपत्र माग गर्दै नयाँ स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।

सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज कार्यरत रहेका र त्यसलाई सबल बनाउनुपर्ने माग उठिरहेको बेला बोर्डले नयाँ स्टकको प्रक्रिया अगाडि बढाएको थियो ।

बोर्डको माग बमोजिम तीनवटा समूहले स्टक एक्सचेन्जका लागि आवेदन दिएका थिए । उनीहरुको आवेदन माथि छानबिन भइरहेको थियो ।

प्रधानमन्त्रीले अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागीलगायतलाई बोलाएर तत्काल प्रक्रिया स्थगित गर्न निर्देशन दिएका हुन् ।

बोर्डको गत चैत ३० को सूचनाअनुसार यही वैशाख १० गतेसम्म तीनवटा समूहले नयाँ स्टक एक्सचेन्ज स्थापनाका लागि आवेदन दिएका थिए । त्यसमा हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेड छन् ।

कमोडिटिजतर्फ मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट्स एन्ड एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज र नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेडले आवेदन दिएका थिए ।

संघीय संसदमा यस विषयमा सांसदहरुले गम्भीर ध्यानाकर्षण गराएका थिए । मन्त्रिपरिषद्को पछिल्लो निर्णयले अब तत्कालका लागि नयाँ स्टक एक्सचेन्जको प्रक्रिया स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय