काठमाडौं– यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडादर घटाएको छ ।
नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि बुधबार सार्वजनिक यातायातको भाडादर घटाएको हो ।
विभागले एक सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालितरूपमा भाडा समायोजन गरिएको जनाएको छ । यात्रुबाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको उक्त सूचनामा उल्लेख गरिएको छ ।
यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले भाडा घटेको जनाइएको छ ।









