काठमाडौं– निजी व्यवसायीहरूको छाता संगठन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौं चेम्बर एक्स्पो हुने भएको छ । चेम्बरले मंगलबार यहाँ पत्रकार सम्मेलन गरी बिहीबारदेखि जेठ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले एक्स्पोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तु राखिने जानकारी दिए । एक्स्पोमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान एवं नेपाली वस्तुको बजारीकरणमा जोड दिइने उहाँको भनाइ छ ।

मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला तथा प्रदर्शनीले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधि प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्ल बताउँछन् ।

‘बाह्य व्यापारिक समुदायसँग सहकार्य गरी स्वदेशी उद्यमी व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न एक्स्पो प्रभावकारी हुनेछ,’ उनले भने ।

एक्स्पोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु तथा खाद्यान्न सामग्री, जडीबुटीजन्य वस्तु प्रदर्शनी गरिने छ । यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसनवेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनीमा राखिनेछन् ।

मेलामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको कक्ष राखिने छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय वस्तु प्रयोगमा जोड दिन र उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय