काठमाडौं– पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग १ खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ । बंगलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो । पूर्वी नाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बंगलादेशको व्यापारिक कारोबार हुँदै आएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७५–७६ देखि चालु आर्थिक वर्ष (आव) २०७९–८० को वैशाख मसान्तसम्ममा काँकडभिट्टा नाका भएर भुटानबाट १ खर्ब ७७ अर्ब ५९ करोड ७५ लाख ४० हजार मूल्य बराबरको मालसामान नेपालमा आयात भएको छ ।

सोही अवधिमा नेपालबाट भुटानतर्फ निर्यात ५० अर्ब ७५ करोड ९२ लाख ३ हजार मूल्य बराबरको मात्र भएको छ । पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा नेपाल र भुटानबीचको व्यापारमा नेपालले निर्यातको तुलनामा तीन गुणाभन्दा धेरै मालसामान आयात गरेको देखिन्छ ।

पाँचै वर्ष व्यापार घाटा
मेची भन्सार कार्यालयका अनुसार आव २०७५–७६ मा भुटानसँगको व्यापार घाटा रु एक अर्ब ४२ करोड ९६ लाख ५३ हजार थियो । आव २०७६–७७ मा ९९ करोड ३२ लाख २८ हजार, आव २०७७–७८ मा रु ६१ करोड ४२ लाख ७३ हजार, आव २०७८–७९ मा रु ९० करोड ८१ लाख ४१ हजार र आव २०७९–८० मा रु ७९ करोड ४५ लाख २ हजार व्यापार घाटा रहेको छ ।

भुटानबाट नेपालले सिमेन्टमा प्रयोग हुने कच्चा पदार्थ जिप्सम आयात गर्दै आएको छ । त्यसैगरी नेपालबाट भूटानतर्फबाट सबैभन्दा धेरै फलाम र फलामबाट बनेको मालसामान निर्यात हुँदै आएको छ ।

चालू आवको १० महिनामा भुटानबाट १ अर्ब १३ करोड ३९ लाख ३८ हजार मूल्य बराबरको जिप्सम आयात भएको छ । सोही अवधिमा नेपालबाट फलाम र फलामबाट बनेका मालसामान ३ अर्ब ७० करोड ३७ लाख ३५ हजार मूल्य बराबरको निर्यात भएको छ ।

पर्यटक धेरै
पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने पर्यटकमा भुटानी नागरिकको सङ्ख्या सबैभन्दा धेरै छ । सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिलसम्मको साढे तीन वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल एक हजार नौ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेकामा १ हजार ७ सय १८ जना भुटानी नागरिक नै भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताए ।

सन् २०२० मा एक जनामात्र भुटानी पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । तर सन् २०२१ मा यो संख्या बढेर १५ पुग्यो भने सन् २०२२ मा ५ सय १९ र सन् २०२३ को हालसम्ममा यो संख्या अझ बढेर १ हजार १ सय १८ जना पुगिसकेको छ ।

भुटानी नागरिक आफन्त भेटघाट र तीर्थयात्राका लागि नेपाल आउने गरेको पाइएको छ । काँकडभिट्टाबाट भारतको पश्चिम बंगाल हुँदै भुटानको सीमा फुन्चोलिङसम्म मोटर बाटोको दूरी मात्र १ सय ७२ किलोमिटर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय