बुटवल– बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको लुम्बिनी केबलकार सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरु गरिएको छ ।

यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए । उनका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ ।

केबलकारको आधार स्टेसन बुटवलको वडा नं. ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ । केबलकारको लम्बाइ २.६ किलोमिटरको हुनेछ ।

केबलकारमा २५ वटा गोन्डला रहनेछन् भने एउटा गोन्डलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम ६ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केबलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ५ हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ ।

व्यवस्थापक साउदका अनुसार यस आयोजनामा करिब ५ अर्ब लगानी भएको छ । जसमा केवलकार, क्यासिनोसहितको १ सय ५० कोठाको पाँचतारे होटल, कामाख्या देवीको मन्दिर, रेस्टुराँ तथा बार र पार्क निर्माण गरिनेछ ।

वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केबलकार निर्माण गरिएको हो । केबलकार सञ्चालनमा आएसँगै यस आसपासका क्षेत्रमा पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ । केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय