काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले भन्सार कर तथा राजस्व सम्बन्धमा बृहत् अन्तरक्रिया गरेको छ । भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउनुपर्ने विषयमा चेम्बरले वस्तुगत संघ एवं आवद्ध संस्था र व्यवसायीसँग छलफल गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीले निर्यात सहजीकरण एवं करको दायरा बढाउन सरकारसँग माग गरेका छन ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राजस्व घटिरहेको सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए । उनले भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले भने, ‘विश्व व्यापार संगठनबाट निर्धारित मूल्यांकन पद्धतिमा रहेर भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्य खारेज गरी कारोबार मूल्यलार्य मान्यता दिनुपर्छ ।

भन्सार नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारान्टाइन ल्याबको उचित व्यवस्थापन गरेर आयात निर्यातलाई प्रभावकारी बनाउन समेत अध्यक्ष मल्लले आग्रह गरे । भन्सार कार्यालयको कारणले हुने ढिलाइमा डेमरेज, डिटेन्सन तिर्नुपर्ने अवस्थाको निराकरण हुनुपर्ने उनको माग छ ।

अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजस्वको दायरामा ल्याउनुपर्नेमा समेत जोड दिए । सोको लागि बिल लिने, दिने व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्न समेत उनले सरकारको ध्यानाकर्षण गराए । करको दर वृद्धि गरिनुभन्दा दायरा बढाइनु पर्ने भन्दै अध्यक्ष मल्लले यसका लागि नागरिकता वितरण गर्दा प्यान कार्ड पनि दिनुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा अधिकांश उद्योगी व्यवसायीले सरकारले दिने निर्यात अनुदानलाई लक्षित वर्गमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । कर राजस्वका सम्बन्धमा स्थानीय तहले आफूखुसी कर निर्धारण गर्दा पनि उद्योग व्यवसाय चलाउन समस्या भएको उनीहरुको गुनासो छ ।

सीमा नाकाहरुमा हुने चोरी पैठारीले राजस्व संकलनको लक्ष्यमा गम्भीर असर परेको अधिकांश व्यवसायीको भनाइ छ । कृषिमा आधुनीकिकरण गरी उत्पादन बढाउन कृषि कार्यमा प्रयोग हुने यन्त्र, उपकरण र आधारभूत प्रयोगका वस्तुमा आगामी बजेटमार्फत भन्सार तथा कृषि सुधार शुल्कमा पूर्णतः छुट हुनुपर्ने व्यवसायीको माग छ ।

भन्सार कार्यालयहरुमा प्रज्ञापनपत्र दर्तादेखि सामान जाँचपास हुने अवस्थासम्म सबै प्रक्रिया कम समयमा छिटो र झन्झटरहित सम्पन्न गर्न एकद्वार प्रणाली लागू गर्नुपर्ने चेम्बरको माग रहेको अध्यक्ष मल्लले बताए ।

चेम्बरको कर राजस्व तथा भन्सार समितिका सभापति परशुराम दाहालले कर राजस्वमा देखापरेका समस्याबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय