नवलपुर– मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो ‘क्रुजसिप’ले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । क्रुजसीपका कारण नवलपुर र चितवन आउने पर्यटकको संख्या वृद्धि भएको होटल व्यवसायी बताउँछन् ।

गैंडाकोटको एलो हाउस रिसोर्टका सञ्चालक चिरञ्जीवी सिग्देलले आफ्नो रिसोर्टमा आउने पर्यटक क्रुजसिप चढ्न जाने गरेको बताए । ‘नारायणी नदीमा क्रुजसीप सञ्चालनमा आएपछि गैंडाकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ,’ उनले भने, ‘केही पर्यटक घुम्न आएका बेला क्रुजसीप जाने गरेका छन्, केही भने क्रुजसीप चढ्नकै लागि मात्र आउने गरेका छन् ।’ क्रुजसीपका कारण नवलपुर तथा चितवनका होटलमा पर्यटकको वृद्धि भएको उनको भनाइ छ ।

क्रुजसिप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले दैनिक तीन चरणमा क्रुजसिप सञ्चालन भइरहेको बताए । ‘नियमित समयमा पर्यटकका लागि दैनिक तीन सिफ्ट क्रुज सञ्चालनमा छ,’ उनले भने, ‘१० जनाभन्दा बढीको समूहमा आउनेका लागि उहाँहरुकै समयमा प्राइभेट क्रुज पनि सञ्चालन भइरहेको छ ।’ अहिले दिउँसो पछि १, ३ र ५ बजे पब्लिक क्रुज सञ्चालनमा छ ।

आइतबारदेखि ‘इभिनिङ क्रुज’ (सन्ध्याकालीन क्रुज) पनि सञ्चालन हुने बस्यालले बताए । ‘पछिल्लो समय बढ्दै गएको गर्मीका कारण आजदेखि ‘इभिनिङ क्रुज’ सञ्चालन गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘बेलुका ६–७ बजेको समयमा सञ्चालन हुने इभिनिङ क्रुजमा सूर्यास्तको मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ ।’ कम्पनीले यात्रुको सुविधालाई ध्यानमा राख्दै केही दिनभित्रै क्रुजसिपको आकर्षक प्याकेज घोषणा गर्ने तयारी गरिरहेको बस्यालले बताए ।

‘देशका विभिन्न स्थानबाट व्यक्तिगत तथा सामूहिकरुपमा क्रुजसीप चढ्नका लागि यात्रु आउने गर्नुभएको छ,’ उनले भने, ‘सहकारी, बीमा कम्पनी, विभिन्न सङ्घसंस्थाबाट क्रुज चढ्नकै लागि आउने गर्नुभएको हामीलाई बताउनुहुन्छ ।’ प्रतिव्यक्ति ७ सय रुपैयाँको टिकट काटेपछि नारायणी नदीमा एक घण्टासम्म क्रुजसीपमा रमाउन पाइने उल्लेख गर्दै उनले पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि ५ सयको टिकटको व्यवस्था गरिएको बताए । टिकट काटेर क्रुजमा सवार गर्ने सबै यात्रुलाई ‘वेलकम ड्रिंक्स’ दिएर स्वागत गरिने उनको भनाइ छ ।

टिकट काटेर क्रुजसीपको यात्रामा जाने सबै यात्रुको १० लाख बराबरको बीमा गरिएको जनाउँदै उनले कुनै भवितव्य आएमा लाइफ गार्डकोसमेत व्यवस्था गरिएको जानकारी दिए । क्रुजसिपभित्रै रेस्टुराँ सञ्चालनमा छ । बजारका होटल तथा रेस्टुराँकै मूल्यमा क्रुजसीप रेस्टुराँमा खाजा तथा खानालगायत पेयपदार्थ उपलब्ध गराइने बस्यालले बताए ।

नारायणीमा सञ्चालनमा आएको क्रुजसीपभित्र रेस्टुराँसहित सांस्कृतिक कार्यक्रम गर्न मिल्ने आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट राखिएका छन् । तीन तलाको क्रुजमा एकैपटकमा दुई सय यात्रु चढ्न मिल्ने क्षमता रहेको छ । क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायतका गतिविधि गर्न पाइने बस्यालको भनाइ छ ।

नवलपुरको मध्यविन्दु नगरपालिकाबाट क्रुजसिपको यात्रा गर्न आएकी आरती शर्माले पहिलोपटक क्रुजसिप चढ्न पाउँदा निकै उत्साहित भएको बताइन् । ‘यो नेपालकै नौलो प्रयोग हो, क्रुजको यात्रा रमाइलो हुन्छ भन्ने सुनेको थिएँ, आज आफैँले अनुभव गर्न पाएँ,’ उनले भनिन्, ‘अहिले छोटो दूरीमा यात्रा गराइने रैछ, यात्रा गर्ने दूरी अलि बढाउँदा रमाइलोसँगै नारायणी किनारको दृश्यावलोकन पनि गर्न पाइन्थ्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय