काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडमा सुविधासम्पन्न भवन निर्माण गरी उद्घाटन गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रममा कम्पनी सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालले संयुक्त रूपमा रिबन काटेर उक्त भवन उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

करिब ३,२२० वर्गफिटमा फैलिएको उक्त भवनको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, बीमा अर्भिकर्ता तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

उक्त भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहनेछ । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनी सञ्चालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षले गदगद भएको बताए । निकट भविष्यमै कम्पनीले नेपालका मुख्य सहरहरुमा घर जग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको उनले जानकारी गराए ।
अग्रवालले संघीयता अनुरुप कम्पनीले सातैवटा प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरिसकेको जानकारी दिए । गण्डकी

प्रदेशको साक्षरता दर, कुल गार्र्हस्थ्य उत्पादनमा गरेको योगदानका लागि गण्डकी प्रदेशबासीलाई धन्यवाद ज्ञापन गरे । बीमा क्षेत्रमा गण्डकी प्रदेशले गरेको योगदानको पनि उनले प्रसंशा गरे ।

नेपाल लाइफले देशको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा जनसंख्याको करिब १० प्रतिशतलाई जीवन बीमा सेवा प्रवाह गर्दै नेपाली जीवन बीमाको क्षेत्रमा विभिन्न सूचकांकहरुको आधारमा अब्बल रहेको उनले दाबी गरे ।

शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रिय कार्यालयबाट प्रदान गरिने सेवा स्थानीय ठाउँबाट प्रदान गर्न सके बीमा सचेतामा बढ्न गई बीमाप्रति मान्छेको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय