काठमाडौं– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ स्थित बालाजी सिमेन्ट इन्डस्ट्रिज प्रालिले भारतमा सिमेन्ट निकासी सुरु गरेको छ । अर्घाखाँची र पाल्पा सिमेन्टले यसअघि नै भारत निकासी सुरु गरिसकेका छन् ।

कम्पनीले बहुबली र सृष्टि ब्रान्डको पीपीसी सिमेन्ट भारत निकासी गरेको हो । कम्पनीले भारत सरकारको गुणस्तर विभागले ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रदान गरेसँगै सिमेन्ट निकासी सुरु गरेको जानकारी गराएको छ ।

पहिलो चरणमा भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई ४२ टन सिमेन्ट निर्यात गरेको कम्पनीले जानकारी दिएको छ ।

सोमबार २ ट्रकमा प्रतिट्रक २१ टनका दरले सिमेन्ट भारततर्फ निर्यात गरेको पनि विज्ञप्तिमा उल्लेख छ । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो ।

भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) ले बालाजी सिमेन्टको उत्पादनलाई इन्डियन स्ट्यान्डर्ड इन्स्टिच्युट (आईएसआई) चिह्न दिएलगत्तै कम्पनीले सिमेन्ट निकासी प्रक्रिया अघि बढाएको हो ।

कपिलवस्तु जिल्लाबाट भारतमा सिमेन्ट निर्यात भएको यो पहिलोपटक हो । विस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यस्थापनको लक्ष्य छ । भारतमा आईएसआई चिह्न नलागेका सिमेन्ट निर्यात गर्न पाइँदैन । नेपालबाट पनि एनएस चिह्न नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन ।

‘५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने सरकारी नीतिले सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको र वर्तमान असहज एवं आर्थिक मन्दीको अवस्थामा सिमेन्ट भारततर्फ निर्यात सुरु गर्न पाउँदा आशाको दियो जागेको छ,’ उद्योगका संस्थापक सन्दिपकुमार गाडियाले भने ।

कम्पनीले भारत निर्यातको लक्ष्य सहित उद्योग सञ्चालन गरेको र त्यो लक्ष्य अहिले हासिल भएको कम्पनीको भनाइ छ ।

बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६०० टन छ । उद्योगले बहुबली र सृष्टि ब्रान्डमा ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । बालाजी सिमेन्ट २०७७ सालमा स्थापना भएको हो । यो उद्योगमा जर्मनीको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान गरिएको कम्पनीका प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय