काठमाडौं–  बैंक, वित्तीय संस्थामा तरलता बढी भएसँगै अल्पकालीन ऋणपत्र (ट्रेजरी बिल्स)को ब्याजदर ४ देखि ७ प्रतिशतसम्म कायम भएको छ ।

केन्द्रिय बैंकले असार ५ गते जारी गरेको ट्रेजरी बिल्समा ४ प्रतिशतदेखि ७ प्रतिशतसम्म डिस्काउन्ट दर तय भएको छ । २८ दिन अवधिको ट्रेजरी बिल्सको डिस्कान्ट दर करीब २ वर्षयताकै कम हो । अल्पकालीन ब्याजदरमा आएको गिरावटले बैंकहरुको ब्याजदर थप घट्ने संकेत गर्छ ।

सरकारले निष्कासन गरेको २८ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर दर ४.२९६४ प्रतिशत कायम भएको छ । बैंक वित्तीय संस्थाले ३.५७०५ देखि ५.६९०२ प्रतिशतसम्मको दर पेस गरेका थिए । यसअघि जेठ ३० गते जारी गरेको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट दर ६.६८३७ प्रतिशत थियो । यस अवधिमा ट्रेजरी बिल्सको डिस्काउन्ट दर २ प्रतिशत बिन्दुभन्दा धेरैले घटेको छ ।

यसैगरी ९१ दिन अवधिको ट्रेजरी बिल्सको ब्याजदर ७.०३ प्रतिशतमा ओर्लेको छ । बैंक तथा वित्तीय संस्थाले उक्त ट्रेजरी बिल्समा ६.८८९९ देखि ७.१९४७ प्रतिशतससम्म ब्याजदर प्रस्ताव गरेका थिए । ९१ दिन अवधिको ट्रेजरी बिल्सको ब्याजदर पनि झन्डै डेढ वर्षयताको न्यून हो ।

१८२ दिन अवधिको ट्रेजरीका लागि बैंक, वित्तीय संस्थाले न्यूनतम ६.७००० प्रतिशतदेखि अधिकतम ७.३८३५ प्रतिशतसम्म्म ब्याजदर प्रस्ताव गरेका थिए । यसमा औसत दर ७.०२५२ प्रतिशत कायम भएको छ । यसअघि जेठ ३० गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत ब्याजदर दर ८.०४४५ प्रतिशत थियो ।

३६४ दिने ट्रेजरी बिल्समा बैंक वित्तीय संस्थाले न्यूनतम ६.९६०० प्रतिशतदेखि अधिकतम ७.४६०० प्रतिशतसम्म ब्याजदर पेश गरेका थिए । यसको औसत दर ७.११६४ प्रतिशत कायम भएको छ । यसअघि जेठ ३० गते निष्कासन भएको ३६४ दिने ट्रेजरीको औसत दर ८.१४७६३ प्रतिशत थियो ।

यसअघिको बोलकबोलमा १० प्रतिशतसम्म ब्याज मागेका बैंक तथा वित्तीय संस्थाले अहिले ७ प्रतिशत मात्रै माग गरी बोलकबोल पेस गरिरहेका छन् ।

अहिले केन्द्रिय बैंकले ७.५ प्रतिशत बैंकदर कायम गरेको छ । नीतिगत दर ७ प्रतिशत छ । बैंकहरुले अहिले बैंकदर भन्दा पनि कम ब्याज माग गरी आवेदन दिन थालेका हुन् । २८ दिने ट्रेजरी बिल्सको दर त अन्तरबैंक कारोबारको ब्याजदर भन्दा पनि तल झरेको छ ।

अहिले एक बैंकले अर्को बैंकसँग लिने सापटीको ब्याजदर पनि ४ प्रतिशतमानै झरेको छ । बैंकहरुमा अधिक तरलता रहेको कारण यस्ता सर्ट टर्म ब्याजदर घट्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय