काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सार्वभौमिकता र स्वाधीनताको सवालमा कानुन र अदालतलाई पनि नमान्ने उद्घोष गरेका छन् ।
उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने आफ्नो निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि उनले अदालत र कानुन नमान्ने बताएका हुन्।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन,’ बालेनले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘फिल्म लेखकले नेपाल भारत को अधीनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
दक्षिण भारतीय फिल्म आदिपुरुषमा आपत्तिजनक संवाद रहेको भन्दै बालेनले उक्त संवाद सबैतिर चल्ने फिल्मबाट नहटाएसम्म काठमाडौं महानगरपालिकाभित्रका हलमा हिन्दी सिनेमा चल्न रोक लगाएका थिए । उनको उक्त निर्णयको विरोधमा हलवालाहरुले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले हिन्दी सिनेमा चल्न दिन अन्तरिम आदेश जारी गरेपछि बालेनको प्रतिक्रिया आएको हो ।
उक्त सिनेमाका निर्देशकले भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा प्रस्ट रुपमा सन् १९०३–०४ सम्म नेपाल भारतकै अधीनमा रहेको र त्यसपछि मात्रै भारतबाट अलग भएको बताएका थिए ।









