काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा मौद्रिक मूल्यमा वस्तु आयात पौने १५ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार गत साउनदेखि जेठ मसान्तसम्ममा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँको वस्तु आयात गरेको छ । उक्त १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको आयातनिर्यात दुवै कम हो । उक्त अवधिमा आयात १६.०१ र निर्यात २२.७४ प्रतिशतले घटेको भन्सार विभागको भनाइ छ ।

गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालले १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रुपैयाँको आयात गरेको थियो । सो अवधिमा वस्तु निर्यात १ खर्ब ८५ अर्ब ८३ करोड ६० लाख रुपैयाँ नाघेको थियो ।

यस अवधिको वैदेशिक व्यापार घाटा पोहोरको तुलनामा १५.२१ प्रतिशतले कम भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको पहिलो ११ महिनाको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख रुपैयाँ थियो ।

यस अवधिमा कुल वैदेशिक व्यापार १६.६५ प्रतिशतले घटेर १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यो १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय