चितवन– चालु आर्थिक वर्ष २०७९–८० को जेठसम्ममा करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् ।

राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्षको सुरुआतको महिना साउनदेखि जेठसम्म २ लाख ८८ हजार तीन सय ५९ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन् ।

निकुञ्जमा स्वदेशी एक लाख ९८ हजार ८२६, सार्क देशका ३५ हजार ८८६ र अन्य देशका २९ हजार ५७६ पर्यटक पुगेका छन् ।

सबैभन्दा धेरै पर्यटकले कात्तिकमा भ्रमण गरेका छन् । सबैभन्दा कम पर्यटक आएको महिना भदौ हो । कात्तिकमा ४२ हजार ६४१ पर्यटकले भ्रमण गरेका छन् भने भदौमा ८ हजार ८८० जनाले भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा महिलाभन्दा पुरुष बढी छन् ।

निकुञ्जका अनुसार यस आर्थिक वर्षको ११ महिनामा निकुञ्जले पर्यटनबाट १७ करोड ३० लाख ३ हजार ९०० रुपैयाँ राजस्व आम्दानी गरेको छ ।

सबैभन्दा धेरै पर्यटक आएको कात्तिकमा २ करोड ६३ लाख ५० हजार २५० आम्दानी भएको छ भने सबैभन्दा कम पर्यटक आएको भदौमा ५१ लाख ३ हजार ३०० रुपैयाँ आम्दानी भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले कोभिडपछि निकुञ्ज घुम्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय