बेलबारी– गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको ५ सय ५० देखि ६ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधान यस वर्ष ११ सयदेखि १२ सय ५० सम्ममा कारोबार भइरहेको छ ।

चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य दिन थालेपछि उत्साहित बनेको मोरङ बेलबारी–११ का भगिरथ घिमिरेले बताए । ‘यसअघिका वर्षमा चैतेधानले किसानको उत्पादन गर्दा लाग्ने खर्च पनि उठाउँदैन थियो, तर यो वर्ष नसोचेको मूल्य पायौं,’ उनले भने ।

चैतेधान लगाउने कृषकलाई कोसी प्रदेश सरकारले प्रोत्साहनस्वरुप प्रतिकठ्ठा ५०० रुपैयाँ दिने निर्णय गरेको छ । तर धेरै किसानले यो सुविधा थाहा नभएको बताएका छन् । एक बिघा जमिनमा चैतेधान लगाउने गर्नुभएका बेलबारी–११ का दिपेन राईले प्रदेश सरकारको यो निर्णय थाहा नभएको त्यो सुविधा पाए किसानलाई राहत हुने बताए ।

मोरङमा १ लाख ११ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा २१ हजार ९ सय हेक्टरमा मात्र चैतेधान लगाउने गरिएको र ८३ हजार ३ सय हेक्टरमा बर्खेधान लगाउने गरिएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । उनले यसमा ५.५ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनको तथ्यांक रहेको बताए ।
उचित मूल्यको कमीले चैतेधानप्रति कृषकको आकर्षण घट्दो रहेको थियो तर यस वर्षको मूल्यले कृषकमा चैतेधानप्रति आकर्षण बढाएको छ । हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने खेतमा चैतेधान लगाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय