काठमाडौं– नेपालको चर्चित एवं सफल रिटेल चेन भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललिता निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट मंगलबार पक्राउ गरेको हो ।
२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो ।
ललिता निवास प्रकरणकै कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा गुरुङमाथि पनि आरोप छ । उनी प्रहरीको फरारको सूचीमा रहेका थिए । यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको प्रहरीको भनाइ छ ।









