काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् ।

यसैगरी धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश पञ्जियार, बाँकेको राप्ती सोनारी–५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

सुन संकलन गर्ने क्रम विनोदसहित सञ्जुकुमारी शाह, दुर्गाप्रसाद यादव र देवानन्द शाह पक्राउ परेको प्रहरीको भनाइ छ । प्रहरीले सिरहाका मोहनकुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको जनाइएको छ ।

कतारमा काम गरेर फर्केका पाँच जनासहित १२ जनालाई सोमबार सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारीमा रहेकाहरूले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकमार केसीले दाबी गरे ।

उनका अनुसार शिवसुन्दरले अवैध सुन ल्याउन लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई परिचालन गर्दै आएको खुलेको र सन् २०१९ देखि उनको खातामा १ अर्ब ९६ करोडको कारोबार देखिएको प्रहरीको भनाइ छ ।

शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको तथा सिनामंगलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोदकुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तस्करी गर्नेहरूले ५ हजारदेखि १० हजार दिएर वा होटलमा निःशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेशबाट आउने पाँच जनाको साथबाट ८ सय २८ ग्राम सुन बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय