गोदावरी (कैलाली)– दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ । यद्यपि अझै पनि पुनर्स्थापना भने हुन नसकेको मुक्त कमैयाहरु गुनासो गर्दै आएका छन् ।

जमिन्दारहरुको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषण गरेको थियो । तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो ।

यद्यपि पुनर्स्थापना अझै पूरा नभएको मुक्त कमैया महिला विकास मञ्च कैलालीको भनाइ छ । मुक्ति दिवस खुसी, उत्साह र उल्लासका साथ मनाउनु पर्नेमा अझैसम्म धेरै कमैयाको पुनर्स्थापना हुन नसक्दा पीडा थपिएको र दुःखले मनाउनु परेको मञ्चका अध्यक्ष सीमा चौधरीले गुनासो गरिन्।

शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दामा प्राथमिकता नदिँदा मुक्त कमैयाहरु आर्थिक, समाजिक र राजनीतिकरुपमा पछि पर्दै आएको उनको भनाइ छ । अध्यक्ष चौधरीले मुक्त कमैयाको पुनर्स्थापनामा सहयोग गर्न सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासमक्ष अनुरोध गरिन् ।

कैलालीमा ९ हजार ७६२ मुक्त कमैया परिवार रहेकोमा ९५३ जनाको उचित पुनर्स्थापना हुन बाँकी रहेको उनको भनाइ छ । मुक्त कमैयाको परिचयपत्र सहित पुनर्स्थापना, जनता आवास कार्यक्रम लागू गर्न, अति आधारभूत आवश्यकता पूरा गुर्नुपर्ने, मुक्त कमैयाका बालबालिका, कमलरी तथा युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्न मञ्चले माग गरेको छ ।

अध्यक्ष चौधरीले मुक्त कमैया, कमलरी, हलिया र हरुवाचरुवाको वस्तुस्थिति अध्ययन प्रतिवेदनको सिफारिस कार्यान्वयन गरिनुपर्ने, मुक्त कमैयाहरूलाई व्यवसाय सञ्चालनका लागि बिनाधितो पाँच वर्षका लागि ५ लाखसम्म ऋण उपलब्ध गराइनुपर्ने र राज्यका हरेक तहमा मुक्त कमैयाको सहभागिताको सुनिश्चितता गरिनुपर्नेमा जोड दिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय