काठमाडौं– एनआईसी एसिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा नामको योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको दाबी गर्ने उक्त बैंकले ल्याएको यो कर्जाको लाभ लिन योग्य ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध ‘अप्लाइ फर लोन एगेन्स्ड एफडी’ अप्सनमा गएर छनोट गर्नुपर्ने र विकल्प छनोट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिने बताइएको छ ।

‘यसपछि ग्राहक महानुभावहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रू. २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ,’ बैंकको विज्ञप्तिमा भनिएको छ, ‘अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहक महानुभावहरूको खातामा तुरुन्तै जम्मा हुनेछ ।’

उक्त योजनमार्फत २ लाख रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गरेपछि कर्जा प्राप्त हुने बताइएको छ । यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रैमासको अन्त्यसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको बैंकले जानकारी गराएको छ ।

त्यसैगरी, कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्ने बताइएको छ ।

न्यूनतम ५ हजार रुपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रक्रिया शुल्क, कर्जा भुक्तानी सुविधा, पुनर्तालिकीकरण, सर्तहरूबारे कर्जा लिने प्रक्रियाको क्रममा जानकारी प्राप्त हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय