काठमाडौं– पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका विपन्न मजदुरको पाँच सय रुपैयाँ योगदान तथा नगरपालिकाद्वारा पाँच सय रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँको दरले प्रतिमहिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणि शर्माले हस्ताक्षर गरेका छन् । उक्त योजनामा सहभागी करिब सात सय असंगठित क्षेत्रका विपन्न मजदुरले ६० वर्ष पुगेपछि मासिक रुपमा पेन्सन पाउने वा साँवाब्याज तथा प्रतिफलसहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराइएको नागरिक लगानी कोषको विज्ञप्तिमा उल्लेख छ । यस पेन्सन योजनाको बैंकिङ साझेदार एनआइसी एसिया बैंक बनेको छ ।

नगरपालिकाको यस कार्यक्रमलाई एनआइसी एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत कोषको तर्फबाट १–१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए ।

सो अवसरमा नगरपालिका प्रमुख, उप–प्रमुख लगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको कदम, कोषको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय